संघीय समाजवादी फाेरम नेपाल केन्द्रीय सरकारमा सहभागी हुने भएपछि प्रदेश २ मा वाम गठबन्धनसहितकाे सरकार बन्ने देखिएकाे छ।
केन्द्रीय सरकारमा संघीय फाेरम सहभागी हुने विषयमा एमाले-फाेरमबीच सैद्धान्तिक सहमति छ। त्यो सहमतिअनुसार सम्झौता हुन बाँकी रहेकाे अवस्थामा प्रदेश २ को सरकारमा वाम गठबन्धन सहभागी हुने स्थिति देखिएकाे हाे।
अाेली प्रधानमन्त्रीमा नियुक्त भएकै दिन फागुन ३ गते त्यहाँ फाेरम नेतृत्वकाे सरकार गठन भएकाे थियो।
फाेरमका विजय यादब प्रदेश अर्थमन्त्री छन् भने भाैतिक याेजनासहित राजपाकाे भागमा परेका मन्त्रालय जितेन्द्र साेनालले सम्हालिरहेका छन्। एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नं २ का संसदीय दलका नेता सत्यनारायण मण्डलले प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठन हुन सक्ने बताउँछन्।
‘प्रदेशलाई आर्थिकरुपमा समृद्ध र विकसित बनाउन सबै पार्टीको सहकार्य आवश्यक छ’, नेता मण्डलले भने, ‘प्रदेश नं. २ मा राजपा र फोरमका प्रदेश सांसद नै अनुपस्थित भएर विश्वासको मत नपुग्ने अवस्थामा हामीले विश्वासको मत पनि दिएका छौं’, नेपाल बुद्धिजीवी परिषद्, सप्तरीद्वारा राजविराजमा आयोजित होलीको शुभकामना, बधाई तथा सम्मान कार्यक्रममा नेता मण्डलले भने, ‘प्रदेशको समृद्धि र विकासका लागि वाम गठबन्धनसहितको सरकार बनाउने प्रयास भइरहेको छ।’
साेही कार्यक्रममा बाेल्दै राष्ट्रियसभा सदस्य तथा एमाले केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले केन्द्रमा फोरम–राजपा तथा प्रदेश नं २ मा वाम गठबन्धनसहितको सरकार गठनको प्रयास भइरहेको जानकारी दिए।
पूर्व सिँचाइमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता उमेश यादवले नाकाबन्दीको समयमा केपी शर्मा ओलीको नेतृत्वमा बनेको सरकारले मधेशका लागि दिएको पर्याप्त बजेटका कारण नै काँग्रेसको पालामा जीर्ण बनेका पूर्वाधार र संरचनाको विकास निर्माण शुरु भएको उल्लेख गरे।
परिषद्का अध्यक्ष भूपेन्द्रनारायण मण्डलको अध्यक्षतामा सम्पन्न सम्मान समारोहमा एमाले र माओवादी केन्द्रबाट प्रदेश सभामा निर्वाचित सदस्यहरुलाई अबीर, माला र दोसल्ला ओढाएर सम्मान गरिएको थियो।