प्रधानन्यायाधीश गोपाल पराजुलीको बेन्चबाट कान्तिपुर दैनिक र प्रेस काउन्सिलका नाममा जारी कारण देखाउ आदेश र अन्तरिम आदेशप्रति विवेकशील साझा पार्टीले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
विवेकशील साझा पार्टीले प्रधानन्यायाधीश गोपाल पराजुलीले आफ्नो अयोग्यतासम्बन्धी उठेको प्रश्नलाई ढाकछोप गर्न प्रेसमाथि सेन्सरसिप लगाउन खोजेको आदेशको विरोध गरेको छ ।
‘उक्त आदेशहरु आफ्नो बचाउ गर्दै प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने नियतबाट प्रेरित भएको हामीले महसुस गरेका छौं, र त्यसप्रति हामी विमति जनाउँछौं’ विज्ञप्तीमा भनिएको छ, ‘अदालत लगायत राज्यका महत्वपूर्ण निकायको सम्मान र गरिमा स्वतन्त्र प्रेसमाथि ‘सेन्सरसिप’ लगाएर जोगिन सक्दैन ।’ साथै, प्रधानन्यायाधीश स्वयं नै मुद्दाको एक पक्ष भएको अवस्थामा आफैं बेन्च तोक्ने र फैसला सुनाउने कार्यले न्यायिक मर्मलाई कत्तिको आत्मसात गर्न सक्छ भन्ने प्रश्न पनि पेचिलो रूपमा गाडि आएको छ ।
उक्त पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले जारी गरेको विज्ञप्तिमा न्यायिक निष्पक्षता र प्रेस स्वतन्त्रता लोकतान्त्रिक ब्यबस्थाका अपरिहार्य शर्त भन्दै विवेकशील साझा पनि त्यसैको पक्षमा उभिएको उल्लेख छ ।