एमाले र माओवादी केन्द्रबीच पार्टी एकतासम्बन्धी छलफल दुई अध्यक्षमै सीमित भएपछि वाम एकता संयोजन समिति बैठक औपचारिकतामै अल्झिन पुगेको छ । एमाले अध्यक्ष केपी ओलीको निवासमा बिहीबार बसेको बैठक पनि ठोस निर्णयबिनै टुंगियो ।
बैठकमा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एकतासम्बन्धी छलफल सकारात्मक दिशामै रहेको भनी ब्रिफिङ मात्र गरे । बैठकमा दुई दलबाट मुख्यमन्त्री र मन्त्रीहरूको बाँडफाँट टुंग्याउन गठित कार्यदलका नेता पनि सहभागी थिए । उनीहरूले पेस गरेको प्रतिवेदन बैठकले अनुमोदन गर्यो । ७० र ३० प्रतिशतका आधारमा मन्त्रीहरूको पद बाँडफाँट गर्ने, मुख्यमन्त्री र सभामुख एमालेले ४/४ र माओवादीले २/२ लिने प्रतिवेदनमा उल्लेख छ । पार्टी एकताबारे भने बैठकमा ठोस छलफल भएन । ‘कार्यदलले दिएको रिपोर्टलाई संयोजन समितिले अनुमोदन गरेको छ,’ कार्यदल सदस्यसमेत रहेका एमाले नेता सुरेन्द्र पाण्डेले भने, ‘अन्य विषयमा धेरै छलफल नै भएन ।’
बैठकमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजको नेपाल भ्रमणको प्रसंगले पनि प्रवेश पायो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको टेलिफोन वार्तामा उनले आफ्नो प्रतिनिधि पठाउने इच्छा राखेकाले सोहीअनुसार स्वराज नेपाल आएको ओलीले बैठकका सहभागीलाई जानकारी गराए ।
बैठकमा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी विषयमा के प्रगति भइरहेको छ भन्दै अध्यक्षहरूसँग जिज्ञासा राखेका थिए । दुवै अध्यक्षले यसबारे कुराकानी भइरहेको र अझै केही थप छलफल गरेर निष्कर्ष निकाल्ने धारणा राखेका थिए । यसअघि एकतासम्बन्धी काम अघि बढाउन दुइटा कार्यदल बनाउने तयारी भएको छ । एउटा संगठनात्मक व्यवस्थापन मिलाउने र अर्को सैद्धान्तिक विषय टुंगो लगाउने गरी कार्यदल बनाउने दुई पार्टीको समझदारी थियो । तर, बैठकमा उक्त समितिबारे कुनै निर्णय भएन । दुवै अध्यक्षबीच अझै एक–दुईपल्ट छलफलपछि कार्यदल गठन प्रक्रिया अघि बढ्ने नेता श्रेष्ठले जानकारी दिए ।
एकीकृत पार्टीको नेतृत्व कसले गर्ने भन्नेमा दुई दलबीच मुख्य विवाद छ । आफू ठूलो दल भएकाले तत्कालै अध्यक्ष माओवादीलाई दिन नहुने धारणा एमालेमा प्रबल छ । माओवादीले भने सम्मानजनक एकताका लागि अध्यक्ष आफूले पाउनुपर्ने दाबी गर्दै आएको छ । ओलीलाई आगामी सरकारको प्रधानमन्त्री बनाउन दुवै दल तयार रहेको अवस्थामा पार्टीको कार्यकारी भूमिका माओवादी अध्यक्ष दाहाललाई दिनुपर्ने माग छ । यही गाँठो फुकाउन नसक्दा एकता प्रक्रिया झन्झन् लम्बिँदै छ । दुवै दल एकता प्रक्रिया टुंग्याउनेभन्दा सरकार निर्माण र पदीय बाँडफाँटमा केन्द्रित छन् । त्यसैले केन्द्रीय सरकार बन्नुअघि नै पार्टी एकताको खाका आउनेमा आशंका व्याप्त छ । बिहीबारै काभ्रे पुगेका माओवादी अध्यक्ष दाहालले भने केही दिनभित्रै पार्टी एकतासम्बन्धी निर्णय हुन सक्ने धारणा राखेका छन् ।