नेपालको बाह्य व्यापारमा ७ खर्ब ९७ अर्बको खाडल, भारत–चीनसँग ६ महिनामै खर्बको घाटा

Thursday, January 22nd, 2026 | | अर्थ ⁄ वाणिज्यदेश

काठमाण्डौ । पछिल्लो समय नेपालको वैदेशिक निर्यात बढे पनि व्यापारमा खाडल झन् गहिरिएको छ। भन्सार विभागका अनुसार चालू आर्थिक वर्षको ६ महिनामा विदेश व्यापारमा नेपालले ७ खर्ब ९७ अर्बको घाटा व्यहोरेको हो।

अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ७ खर्ब २३ अर्बको थियो। साउनदेखि पुससम्म नेपालको निर्यात ४३.७६ प्रतिशतले बढेको त छ तर घाटा पनि १०.१५ प्रतिशतले उकालो लागेको विभागले जनाएको छ।

यो अवधिमा नेपालले गर्ने आयात १४.१८ प्रतिशतले वृद्धि भएको देखिएको छ। तथ्यांकअनुसार गत वर्ष पुससम्म ८ खर्ब २२ अर्ब ३७ करोड ५ लाख ४६ हजारको आयात भएकोमा यस वर्ष सोही अवधिमा बढेर ९ खर्ब ३९ अर्ब २ करोड २८ लाख ८३ हजार पुगेको छ। निर्याततर्फ गत वर्ष ९८ अर्ब ७८ करोड ९२ लाख ४७ हजार रहेकोमा यस वर्ष ह्वात्तै बढेर १ खर्ब ४२ अर्ब १ करोड ८० लाख १६ हजार रुपैयाँ पुगेको छ।

विभागका अनुसार पछिल्लो ६ महिनामा नेपालले १० खर्ब ८१ अर्ब ४ करोड ८ लाख ९९ हजारको व्यापार गरेको थियो। जुन अघिल्लो आवको ६ महिनामा ९ खर्ब २१ अर्ब १५ करोड ९७ लाख ९४ हजार थियो। व्यापारको आकार बढ्दै जाँदा घाटा पनि चुलिँदै गएको तथ्यांकमा देखिन्छ।

सबैजसो देशसँग नेपाल घाटामा

नेपालले गर्ने द्विपक्षीय व्यापारमा अर्जेन्टिनासँग ५४ अर्ब ४३ करोड ८३ लाख ८७ हजार रुपैयाँ घाटा छ। त्यसैगरी अस्ट्रेलियासँग ५ अर्ब १५ करोड, अस्ट्रियासँग ६ करोड ४७ लाख ८८ हजार, अजरबैजानसँग ९ लाख ६ हजार, बहरेनसँग २१ करोड ६८ लाख घाटा छ।

नेपालले छिमेकी देश बंगलादेशसँगको व्यापारमा समेत २ अर्ब ८२ करोड बढी घाटा व्यहोरेको तथ्यांकले देखाएको छ। धेरै घाटा व्यहोरेकामध्ये ब्राजिलसँग ५ अर्ब बढी, ब्रुनाई डेरुसेलमसँग ४ अर्ब ५७ करोड बढी, क्यानडासँग ३ अर्ब ३८ करोड बढी, चीनसँग १ खर्ब ९५ अर्ब बढी, फ्रान्ससँग ३ अर्ब ३४ करोड बढी, हङकङसँग ३ अर्ब ९ करोड बढी, भारतसँग ४ खर्ब १६ अर्ब बढी घाटा रहेको छ।

उक्तबाहेक इन्डोनेसियासँग ९ अर्ब ८१ करोड बढी नेपालले व्यापारघाटा व्यहोरेको छ। इजरायलसँग १ अर्ब १२ करोड बढी, इटालीसँग १ अर्ब ७४ करोड बढी, जापानसँग ३ अर्ब ११ करोड बढी, दक्षिण कोरियासाग २ अर्ब ६४ करोड बढी, मलेसियासँग ५ अर्ब ९४ करोड बढी, ‘नट स्पेसिफाइड’ देशसँग २ अर्ब १९ करोड बढी घाटा देखिएको छ।

त्यसैगरी पाराग्वेसँग १ अर्ब ४७ करोड बढी, कतारसँग ३ अर्ब १४ करोड बढी, रुससँग १ अर्ब ९७ करोड बढी, साउदी अरेबियासँग २ अर्ब ८४ करोड बढी, सिंगापुरसँग २ अर्ब ५४ करोड बढी, थाइल्यान्डसँग ९ अर्ब १० करोड बढी, युद्धरत युक्रेनसँग ४ अर्ब ४० करोड बढी, संयुक्त अरब इमिरेट्स (यूएई)सँग ३० अर्ब ८७ करोड बढी, अमेरिकासँग ३ अर्ब ६८ करोड बढी, भियतनामसँग ३ अर्ब ७ करोड बढीको घाटा व्यहोरेको तथ्यांकमा देखिन्छ।

यसरी नेपालले कुल १५२ देशसँग व्यापार गरे पनि ६ महिनामा ७ खर्ब ९७ अर्ब कुल घाटा व्यहोरेको छ। निर्यात कम र आयात बढी हुँदा नेपालको व्यापार घाटामा गएको भन्सार विभागले जनाएको छ।

थप अरु