इस्लामिक संस्कृतिलगायत विभिन्न सांस्कृतिक सम्पदाका कारण पर्यटकीय आकर्षणको केन्द्रमा रहने सिरिया अहिले ध्वस्त हुँदै गई रहेको छ । सन् १९४० मा फ्रान्सको उपनिवेशबाट मुक्त भएपछि यो देश राम्रै्र गतिमा अघि बढिरहेको थियो । ७५ प्रतिशत खेतीयोग्य जमिन थियो । ३० प्रतिशत मानिसको बीचमा इन्टरनेटको पहुँच थियो । दमास्कस, अलेप्पो, पालमिरा जस्ता शहरहरुमा पर्यटकहरुको राम्रै आवतजावत हुने गर्दथ्यो । तर, अहिले एकदम विपरीत अवस्था छ ।बाटो, पानी, बिजुली, कारखाना सबै ध्वस्त भइसकेका छन् । अलेप्पो शहरका सबै मुख्य मस्जिदहरु ध्वस्त भइसकेका छन् । पालमिरा शहरमा अवस्थित रोम सभ्यताको कालदेखि करिब तीन हजार वर्ष पुरानो विश्व सांस्कृतिक धरोहर समेत ध्वस्त भइसकेको छ । क्रिश्चियन तथा सिया संरचनाहरु कुनै पनि बाँकी छैनन् ।
यहाँ अहिले कुनै उत्पादन हुँदैन । खानपिनका सामग्रीहरु एकदम महङ्गो भइसकेका छन् । स्वास्थ्य समस्याका कारण पोलियो जस्ता रोगहरु समेत देखा पर्न थालेका छन् ।
लेबनान, टर्की, इराक, जोर्डन, इजरायलजस्ता देशहरुबाट घेरिएको मध्य-पूर्वी यो देशमा हालसम्मको युद्धका कारण करिब पाँच लाखभन्दा बढी मानिस मरिसकेका छन् । ६० लाख मानिस विस्थापित भएका छन् । विस्थापितहरुमध्ये सबैभन्दा बढी २७ लाख मानिस टर्की पुगेका छन् । त्यस्तै, युरोपको जर्मनी, लेबनान, जोर्डन जस्ता देशहरुमा ठूलो मात्रामा सिरियनहरु विस्थापित हुन बाध्य भएका छन् ।