तरकारीवालीको उपनामले संसारभर भाइरल बनेकी धादिङकी कुशुम श्रेष्ठको समेत अभिनय रहेको चलचित्र ‘लम्फू’को फष्टलुक पोस्टर सार्वजनिक गरिएको छ । निर्माण युनिटले चलचित्रको तीन फरक–फरक भाव र चरित्र अटाएका पोस्टर एकसाथ सार्वजनिक गरेको हो ।
सार्वजनिक पोष्टरमा तरकारीवाली कुशुम समेत अटाएकी छन् । २०७५ वैशाख २८ मा रिलिज हुने यो चलचित्र एक युवाको जीवनमा आइपर्ने अकल्पनिय घटनाहरुले भरिएको छ ।
गोपालचन्द्र लामिछानेले निर्देशन गरेको चलचित्र पपुलर मल्टिमिडियाका शक्ति वल्दव घोरासैनीले निर्माण गरेका हुन् । यस चलचित्रको लेखन भूपतिले गरेका हुन्, भने दीपक बज्राचार्यको छायाँकन रहेको छ ।
‘लम्फू’मा हरि सिलवालको सम्पादन, अष्ट महर्जनको द्वन्द्व, रामजी लामिछाने र शिव विकको कोरियोग्राफी रहेको छ । चलचित्रमा बालकलाकार कुशाग्र भट्टराईको पनि अभिनय रहेको छ ।
अर्जुन पोखरेलको संगीत रहेका ‘लम्फू’का चार गीत अडियो भर्सनमा एकसाथ सार्वजनिक भइसकेका छन् । सार्वजनिक सबै गीतले सकारात्मक प्रतिक्रिया पाएको संगीतकार पोखरेलले बताए ।
कबिर खड्का, मरिस्का पोखरेल, सलोन बस्नेत, चाँदनी शर्मा, सञ्जित भण्डारी लगायतका कलाकारको अभिनय चलचित्रमा देख्न सकिन्छ ।