काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) ले फागुनमा जय ट्रफी पुरुष इलिट कप आयोजना गर्ने भएको छ।
क्यानका प्रवक्ता छुम्बी लामाले बुधबार प्रेस विज्ञप्ति जारी गरी फागुन ८ देखि १९ गतेसम्म जय ट्रफी आयोजना हुने जनाएका छन्। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा प्रतियोगिता हुनेछ।
गत वर्ष भएको प्रधानमन्त्री एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा सेमिफाइनलमा पुगेका चार टोलीले प्रतिस्पर्धा गर्नेछन्। नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल एपीएफ क्लब र बागमती प्रदेश क्रिकेट टिमको सहभागिता रहने प्रवक्ता लामाले जनाएका छन्।
प्रतियोगिताको पहिलो दिन त्रिवि क्रिकेट मैदानमा आर्मी र पुलिस क्बल तथा मुलपानीमा एपीएफ र बागमती प्रदेशको टोलीले प्रतिस्पर्धा गर्नेछन्। लिग चरणका खेल दुई दिवसीय हुनेछन् भने फाइलन खेल तीन दिवसीय हुने भएको छ।