राष्ट्रिय आँखाको नानी प्रत्यारोपण : दृष्टिबिहीनका लागि वरदान

Monday, February 12th, 2018 | | स्वास्थ्य

“मैले दुई वर्ष पहिले आँखाको प्रत्यारोपण गराएको हो । कुनै पनि काम गर्न अप्ठ्यारो छैन मलाई । आँखाको प्रत्यारोपणपछि मैले नयाँ जुनी नै पाए जस्तो भएको छ ।” काठमाडौं, ग्रिनल्याण्डका २६ वर्षीय विदुर लामिछानको अनुभव हो यो । उनले दुई वर्ष पहिले देब्रे आँखामा नानीको प्रत्यारोपण गराएका हुन् । आँखाको नानी पातलो हुँदै चुच्चो हुने समस्या उनमा थियो । १२ वर्षको उमेरदेखि नै ज्योति कमजोर हुँदै गएपछि उनलाई दैनिक काम गर्न समेत निकै अप्ठ्यारो हुने गर्थ्यो । “आँखा कमजोर हुँदै गयो । चस्मा लगाए भएन, कन्ट्याक्ट लेन्स पनि हालँे त्यसले पनि भएन”, उनी भन्छन, “अस्पताल गएर जचाउँदा आँखाको नानीका कारण समस्या भएको पत्तो लाग्यो । डाक्टरको सल्लाहमा नानी प्रत्यारोपण गरे ।” आँखाको नानी प्रत्यारोपण गराएपछि उनको जीवन उज्यालो भएको छ ।  पछिल्लो समय नेपालमा मृत्युपश्चात आँखाको नानी दान गर्नेको संख्या बढ्दै गएको छ । तिलगंगा आँखा प्रतिष्ठानले २४ वर्षको अवधिमा करीब साढे १० हजार वटा आँखाको नानी प्रत्यारोपण गरीसकेको छ । “आँखा दान भन्ने बित्तिकै धेरैले पुरा आँखाको डल्लो नै फेर्ने भन्ने बुझ्छन”, प्रतिष्ठानका आँखाको नानी प्रत्यारोपण विशेषज्ञ डा. लीना ब्रजाचार्य भन्नुहुन्छ, “पारदर्शी हुनुपर्नेमा आँखाको नानी त्यसमा कुनै कारणवश दाग भएर अथवा फुलो पर्न गएको खण्डमा आँखा देख्न सकिदैन । त्यस्तो आँखाको नानी प्रत्यारोपणलाई नै आँखा दान भनिन्छ ।”   मृत्युको कारण पत्ता लगाएपछि मात्र मृत शरीरबाट आँखा निकालिने डा. ब्रजाचार्यले बताउनुभयो । हेपाटाइटिस बी र सी, एचआईभी, रेबिज जस्ता रोगका कारण मृत्यु हुने बिरामीको आँखाको नानी निकालिदैन । तर पक्षघात, हृदयघात, मधुमेह, उच्च रक्तचाप तथा दुर्घटनाबाट मृत्यु हुनेहरुको भने आँखाको नानी निकाल्न मिल्छ । दृष्टिविहीन हुनुको कारण आँखाको नानी भएमात्र प्रत्यारोपण गर्न सकिने डा. ब्रजाचार्य बताउनुहुन्छ । आँखाको नानी प्रत्यारोपण गरेको करीब ३ हप्तादेखि ३ महिनासम्म आँखा देख्न थाल्ने उहाँले बताउनुभयो ।  नेपाल आँखा बैंकमा झण्डै ७० हजार जनाले आँखा दानका लागि इच्छापत्र जाहेर गरेका छन् । बैंकले सन् २०१७ मा ८ सय २० वटा आँखाको नानी संकलन गरेको छ । सन् २०१३ मा ६ सय ३७ जनाले आँखा दान गरेकोमा २०१४ मा यो संख्या बढेर ७ सय ९ पुगेको थियो । यस्तै, २०१५ मा ६ सय १ र २०१६ मा७ सय ११ जनाले आँखा दान गरेको बैंकको तथ्याङ्क छ ।  प्रतिष्ठानका अनुसार नेपालमा करीब एक लाख मानिस दृष्टिविहीन छन् । अन्धोपना हुनुमा आँखाको नानीका कारण हुने अन्धोपना चौथो नम्बरमा पर्छ । विशेषगरी यो ४० वर्ष मुनिका मानिसमा समस्याका रुपमा देखा परेको छ । मृत्यु भएको ८ देखि १२ घण्टाभित्र दान भएको आँखा काम लाग्ने डा. ब्रजाचार्यले बताउनुभयो । बैंकले वीर, शिक्षण र पाटन अस्पतालबाट र पशुपति आर्यघाट तथा विद्युतीय शवदाह गृहबाट पनि मृत व्यक्तिबाट आँखाको नानी संकलन गर्ने गरेको छ । मृत्युपछि माटोमै त्यसै खेर जाने आँखा दान गरे अरुले देख्न पाउने डा. ब्रजाचार्य बताउनुहुन्छ । आँखा दान गर्नेको संख्या बढ्दै गएपनि सोचेजति बढ्न भने नसकेको आँखा बैंकका प्रबन्धक शंखनारायण त्वायनाले बताउनुभयो  । नेपालमा २२ वटा आँखा अस्पताल, २० वटा आँखा विभाग र ६५ वटा जिल्ला आँखा केन्द्र छन् । पहिले आँखाको नानी विदेशबाट ल्याउने गरिएकोमा हाल नेपालमै दान गर्नेको संख्या बढेपछि देश भित्रबाटै संकलन गर्ने गरिएको छ । आँखा दान गर्नेको संख्या बढ्दै गएपनि सोचेजति छैन । मृत्युपछि त्यसै खेर जाने आँखा दान गरे अन्य दृष्टिविहीनले संसार देख्ने अवसर पाउँछन् । तर, मानिसमा आँखा दान सम्बन्धी अन्धविश्वासको जरो भने अझै उत्तिकै छ । त्यसैले आँखा दान गर्नेको संख्या अपेक्षा अनुसार बढ्न सकेको छैन । यसका लागि जनमानसमा आँखा दानबारे रहेको भ्रम चिर्न जरुरी छ ।

थप अरु

औलो जोखिम बढ्दो

Wednesday, February 28th, 2018/