दरबारमार्ग बलात्कार काण्ड: अनुसन्धान सकेपछि मुद्दा मिलाउन बार्गेनिङ (कागजात सहित)

Friday, February 9th, 2018 | |

प्रहरीले दरबारमार्गस्थित होटल ल्याण्डमार्कमा ७ माघमा भएको सामुहिक बलात्कार घटनाको प्रारम्भिक अनुसन्धान पुरा गरेर माथिल्लो निकायलाई लिखित जाहेर भईसकेपछि पीडक–पीडित पक्षबीच गराएको खुलेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंलाई लिखित जानकारी पठाएपछि महानगरीय प्रहरी बृत्त दरबारमार्गले घटना ढाकछोपको चलखेल गरेको हो।

दरबारमार्ग बृत्तले घटनाको प्रारम्भिक अनुसन्धान पुरा गर्नुका साथै महानगरीय प्रहरी परिसर काठमाडौंलाई लिखित जाहेर गरिसकेपछि घटना सामसुम पारेको नेपालखबरलाई प्राप्त कागजातहरुले देखाएका छन्। प्रहरी कार्यालयमा अनुसन्धान शाखाले प्रत्येक दिनको जाहेरी आफूभन्दा माथिल्लो तहलाई गराउने प्रचलन छ।

edainik khabar

प्रसुतिलाई स्वास्थ्य जाँचका लागि लेखिएको पत्र (बायाँ) र काठमाडौं प्रहरीलाई दरबारमार्ग बृत्तले दिएको जाहेरी पत्र

प्रसुतिलाई स्वास्थ्य जाँचका लागि लेखिएको पत्र (बायाँ) र काठमाडौं प्रहरीलाई दरबारमार्ग बृत्तले दिएको जाहेरी पत्र

बृत्तले अनुसन्धान सकेर पक्राउ आरोपीलाई हिरासतमा लिएपछि अन्य आरोपी खोज्न छाडेर हिरासतमा लिएका ब्यक्तिमार्फत् अन्य आरोपीसँग रकम असुलेको अनुसन्धानबाट देखिएको छ। पीडित युवतीको साविती लिखित बयान, प्रसुती गृहको मेडिकल प्रतिवेदन, घटनास्थलको मुचुल्का र मुख्य आरोपी पक्राउ भईसकेपछि महानगरीय प्रहरी बृत्त दरबारमार्गका अधिकारीहरुले बार्गेनिङ सुरु गरेका थिए।

घटनाको भोलिपल्ट ८ माघमा बिक्षिप्त अवस्थामा भौतारिँदै आएकी पीडित युवतीको ठाडो जाहेरी लिएको दरबारमार्ग प्रहरीले बलात्कार सम्बन्धी मुलुकी ऐन अनुसार औपचारिक अनुसन्धान पुरा गरेको दस्तावेज नेपालखबरलाई प्राप्त भएको हो ।

नेपालखबरलाई प्राप्त कागजातमा घटनाको ठाडो जाहेरीमा पीडित युवतीले नाम नै किटान गरी चार ब्यक्तिहरुले सामुहिक बलात्कारपछि नग्न बनाएर तस्वीर लिनुका साथै धाकधम्की समेत दिएको उल्लेख छ। सोही दिन बृत्तले काठमाडौं प्रहरीको अपराध अनुसन्धान शाखालाई पत्र लेख्दै घटनाको लिखित जाहेरी दिएको हो।

बृत्तको चलानी नम्बर ७११ रहेको उक्त पत्रमा घटनाका बिषयमा जानकारी गराउँदै अनुसन्धान तथा आरोपीको खोजी भै रहेको उल्लेख छ। निलम्बित प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरीले हस्ताक्षर गरेको उक्त पत्र परिसरका डिएसपी बेलबहादुर पाण्डेले बुझेका थिए।

यस्तै बृत्तका प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारी र प्रहरी जवान उमेश पालले घटनास्थल होटल ल्याण्डमार्कको मचुल्का लिएका थिए। होटलका प्रबन्धक दीलिपकुमार श्रेष्ठ र बिरु श्रेष्ठलाई साक्षी राखेर मुचुल्का उठाईएको थियो। प्रहरी मुचुल्कामा घटना भएको कोठाको अवस्था र बरामद सामाग्रीको विवरण लिईएको छ। मुचुल्कामा होटलमा प्रयोग भएका कण्डम फेला परेको उल्लेख छ।

edainik khabar2

मुचुल्का

मुचुल्का

प्रहरीले ८ माघमा नै पीडित युवतीलाई बृत्तकै महिला प्रहरीका साथमा थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परिक्षणका लागि पठाएको थियो। बृत्तको चलानी नम्बर ७१० रहेको पत्रमा प्रहरीले मुलुकी ऐन अनुसार बलात्कार भए/नभएको आधार मान्ने पाँच प्रश्न प्रसुती गृहसँग सोधेको थियो।

प्रसुती गृहले ‘योनीको जाँचमा बलात्कार भएको भन्न नसकिने, तर बलात्कार भएको होइन नै भन्न सकिँदैन’ भन्ने ब्यवहोराको प्रतिवेदन प्रहरीलाई दिएको देखिन्छ।

घटनाको तेस्रो दिन ९ माघमा दरबारमार्ग बृत्तले मुख्य आरोपी शैलेश कार्कीलाई हिरासतमा लिएको थियो। बृत्तको हिरासत अभिलेख अनुसार कार्कीलाई राति ९ बजे थुनामा राखिएको थियो।

यति हुँदाहुँदैपनि प्रहरीले जर्वजस्ती करणी मुद्दामा गर्ने औपचारिक र अनिवार्य प्रारम्भिक अनुसन्धान पुरा गरेर मुख्य आरोपी हिरासतमै रहेका बेला सहमति गरेर छाडेको थियो। घटनाको चौथो दिन १० माघमा मुख्य आरोपी र पीडितका परिवारलाई बृत्तमै राखेर सहमति गराइएको थियो। सहमतिमा दुबै परिवारका सदस्यसहित महेश पन्त र महेश महर्जन नामक व्यक्तिहरु साक्षी बसेका थिए।

घटना नियोजित
पीडित युवतीले घटनाको अर्को दिन (८ माघ) विहानमा दरबारमार्ग बृत्तमा दिएको ठाडो जाहेरीमा आफुलाई सामुहिक बलात्कारपछि पनि नग्न तस्बिर खिच्ने र गालीगलौज गरिएको उल्लेख गरेकी छन्।

नेपाल खबरसँग सुरक्षित उक्त पत्रमा युवतीले घटनाका दिन आफू काँडाघारीस्थित एकजना साथीको घरमा गैरहेका बेला मुख्य आरोपी कार्कीले फोन गरेर भेटपछि घर पुर्‍याउने शर्तमा बोलाएको उल्लेख छ। पीडित युवतीले लिखित पत्रमा आरोपी कार्कीले अत्यन्त जरुरी रहेको भनेपछि आफू लाजिम्पाटस्थित भूमि क्याफेमा पुगेको बताएकी छन्।

edainik news

पीडित युवतिको निवेदन

पीडित युवतिको निवेदन

क्याफेमा कार्की बाहेक अन्य आरोपी ठेकेदार विकास गौतम, दिपक श्रेष्ठ र रवि पौडेल पहिलेदेखि बसिरहेका थिए। कार्कीको अनुरोधमा दुई गिलास वाइन र मम खाएपछि आफूलाई केही असजिलो भएको युवतीले लिखित जाहेरीमा उल्लेख गरेकी छन्।

‘मैले घर पुर्‍याई देउ भन्दा शैलेसले दाईको मिटिङपछि जाने भन्दै आलटाल गरे, अति नसा लागेपछि मलाई होटलमा लगेका थिए,’ युवतीको बयानमा उल्लेख छ।

अनुसन्धान अधिकारीका अनुसार पीडितलाई लैजानु अघि नै होटलमा दीपक श्रेष्ठका नाममा १० जनाका लागि भन्दै पाँचवटा कोठा बुक गरिएको थियो। होटल बुक गर्न शैलेश कार्की र आवास लामाको सवारी चालक अनुमतिपत्र प्रयोग भएको थियो।

edainik news 1

होटल बुक गर्दा प्रयोग गरिएको परिचय पत्र र होटलको रजिष्टर कार्ड

होटल बुक गर्दा प्रयोग गरिएको परिचय पत्र र होटलको रजिष्टर कार्ड

पीडितलाई प्रलोभन र धम्की
प्रहरीले घटनापछि आरोपीहरुको नाम किटान गरेर जाहेरी लिने र अनुसन्धान प्रक्रिया पुरा भएपछि आफै मिलाउन सक्रिय भएको थियो। घटनामा संलग्न विकास गौतमका बिषयमा जानकार दरबारमार्ग बृत्तले ‘ठूलो पार्टी’ भन्दै जघन्य अपराध लुकाउन अग्रसरता देखाएको थियो।

घटनामा संलग्न गौतम हेटौंडाको मोतिदान कन्स्ट्रक्सनका संचालक हुन्। यस्तै दिपक श्रेष्ठ सिन्धुपाल्चोकका व्यापारी र रवि पौडेल आर्थिक हैसियत राम्रो भएका ब्यक्ति हुन्।

आरोपी कार्कीलाई हिरासतमा लिएपछि ९ माघको रातिदेखि आरोपीहरुसँग विभिन्न माध्यमले प्रहरीले रकमको बार्गेनिङ गरेको थियो।

पीडित युवतीसँग कपाली कागजमा सहमति गराउन प्रहरी सफल भयो। घटनाको प्रत्यक्षदर्शी दरबारमार्ग बृत्तका प्रहरीहरुले पीडित र उनका परिवारलाई प्रहरी निरीक्षक ठकुरी र सई भण्डारीले झुटो आरोपमा उल्टो कारवाहीमा पर्ने र बदनामी हुने भन्दै मानसिक दबाब समेत दिएको अनुसन्धान अधिकारीलाई बताएका छन्।

अन्त्यमा युवतीलाई निश्चित रकम दिने सहमति भएपछि बृत्तमै उजुबाजुर समेत नगर्ने भनी सहमति पत्रमा दुईजना साक्षीको रोहवरमा हस्ताक्षर र औंठा छाप लगाएर सहमति गराउन प्रहरी सफल भएको थियो।

प्रहरीलाई कारवाहीको सिफारिस
काठमाडौं प्रहरीले आफ्नै मातहतको बृत्तका प्रहरी अधिकृतले सामुहिक बलात्कारको घटना ढाकछोप गरेको स्वीकार गरेको छ। उसले घटना ढाकछोपका लागि युवतीलाई आर्थिक प्रलोभन र करकापमा पार्ने कार्यमा संलग्न अधिकारी र अन्यलाई समेत कडा भन्दा कडा कारवाहीको सिफारिस समेत गरेको छ।

बलात्कार जस्तो जघन्य अपराधमा सहमति गराएको घटना बाहिरिएपछि महानगरीय प्रहरी परिसर काठमाडौंले प्रहरी उपरीक्षक रामदत्त जोशीको नेतृत्वमा बनाएको पाँच सदस्यीय छानविन समितिले दरबारमार्ग बृत्तका प्रमुख तिलक भारतीसहित लक्ष्मणसिंह ठकुरी र सई चन्द्रबहादुर भण्डारीलाई कडा कारवाहीको सिफारिस गर्दै बिहीबार प्रतिवेदन बुझाएको हो। छानविन समितिले तीनैजनालाई फौजदारी दायित्व बहनगर्नु पर्ने देखिएमा सो अनुसारपनि कारवाहीका लागि सिफारिस गरेको छ।

थप अरु