जापान। जापानको उत्तरी क्षेत्रहरूमा विगत दुई सातादेखि जारी असामान्य रूपमा भारी हिमपातका कारण मृत्यु हुनेको संख्या ३० पुगेको छ। सरकारी अधिकारीहरूका अनुसार सबैभन्दा बढी क्षति आओमोरी प्रिफेक्चरमा देखिएको छ, जहाँ केही स्थानमा ४.५ मिटरसम्म हिउँ जमेको छ।
अओमोरी प्रिफेक्चरकै अजिगासावा क्षेत्रमा ९१ वर्षीया वृद्धाको घर बाहिर झरेको करिब ३ मिटर अग्लो हिउँको ढिस्कोमुनि शव फेला परेको थियो। प्रहरीका अनुसार छानाबाट खसेको हिउँले थिचिँदा उनको निस्सास्सिएर मृत्यु भएको हो। जनवरी २० गतेदेखि अहिलेसम्म हिमपातसँग सम्बन्धित कारणले ३० जनाको ज्यान गएको अग्नि तथा विपद् व्यवस्थापन एजेन्सीले जनाएको छ।
जापान सागर किनारासँगै फैलिएको शक्तिशाली मौसम प्रणालीका कारण होन्शु टापुको केन्द्रीय तथा उत्तरी भागमा सामान्यभन्दा दुई गुणाभन्दा बढी हिमपात भएको छ। अवस्था गम्भीर बन्दै गएपछि केन्द्र सरकारले आत्मरक्षा बल (सेल्फ डिफेन्स फोर्स) परिचालन गरी हिउँ हटाउने काममा सहयोग गरिरहेको छ।
प्रधानमन्त्री सानाए ताकाइचीले मन्त्रिपरिषद्को विशेष बैठक बोलाई थप जनधन क्षति हुन नदिन सबै मन्त्रालयलाई अधिकतम प्रयास गर्न निर्देशन दिएकी छन्। टेलिभिजन दृश्यहरूमा बासिन्दाहरू हिउँभित्र खनिएका सुरुङजस्ता बाटो हुँदै हिँड्न बाध्य देखिएका छन् भने सवारीसाधनहरू बाटोमै अड्किएका छन्।
अओमोरी सहरमा १.८ मिटरसम्म अग्ला हिउँका पर्खालहरूले सरकारी कार्यालयका कर्मचारीहरू समेत काममा उपस्थित हुन नसकेको प्रान्तीय गभर्नर सोइचिरो मियाशिताले बताएका छन्। धेरै विद्यालय बन्द छन् र सार्वजनिक यातायात सेवा पनि आंशिक रूपमा स्थगित गरिएको छ।
स्थानीय बासिन्दाहरूले बिहानैदेखि सवारी आवागमन रोक्दै प्राथमिकताका आधारमा हिउँ हटाउनुपर्ने माग गरेका छन्। मौसम क्रमशः न्यानो बन्दै जाँदा छानाबाट जमेको हिउँ खस्ने जोखिम बढ्ने भएकाले अधिकारीहरूले विशेष सतर्कता अपनाउन आग्रह गरेका छन्।