काठमाडौं, माघ २१ । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने औपचारिक भ्रमण सकेर त्यहाँको नारिता विमानस्थलबाट स्वदेश प्रस्थान गरेका छन्। जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल प्रथम महिला सबिता पौडलसहित नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै सोमबार जापान पुगेका थिए।
जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेल जापान सरकारले टोकियोमा अयाोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहलाई सम्बोधन गरे।
त्यस्तै टोकियोस्थित इम्पेरियल प्यालेसमा राष्ट्रपति पौडेलले जापानका सम्राट् नारुहितोसँग राजकीय शिष्टाचार भेट गरे। उनीसँग जापानका प्रधानमन्त्री सुश्री ताकाइची सानाए र जापानका विदेश राज्यमन्त्री होरिइ इवाओले शिष्टाचार भेटवार्ता गरे।
भ्रमणका क्रममा जापानी व्यापारिक समुदाय र यहाँ रहेका नेपालीहरूको कार्यक्रमलाई पनि उनले सम्बोधन गरे।
उनले जापानस्थित नेपाली राजदूतावासको अवलोकन पनि गरे।
नेपाल जापानबीच १ सेप्टेम्बर १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।
कूटनीतिक सम्बन्ध स्थापनापछि नेपालले १९६५ मा टोकियोमा र जापानले १९६७ मा काठमाडौँमा आफ्नो दूतावास स्थापना गरेको थियो।
राष्ट्रपति पौडेल आइतबार राति नेपालबाट जापानतर्फ प्रस्थान गरेका थिए।